तनहुँको भन्सारमा १७ औं भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै भानुकपको बारेमा जानकारी गराएको हो । साउन १९ गतेदेखि भानु नगरपालिका १ भन्सार स्थित खेलमैदानमा प्रतियोगिता गरिन लागिएको पत्रकार सम्मेलनका संयोजक बिष्णु अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिता १९ साउनदेखी सुरु भै २६ गते समापन हुने उहाँले बताउनु भयो । भानुलाई राष्ट्रिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिनुभयो । भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
आयोजकले पत्रकार सम्मेलन मार्फत खेलप्रेमी दर्शकहरुलाई प्रतियोगिता हेर्न आउनको लागि आग्रह समेत गरेको छ । खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट खेलाडीले सहभागिता जनाएका छन् । खेलाडीलाई आकर्षण गर्न प्रत्येक बर्ष पुरस्कारको राशी पनि वृद्धि गराउदै गैरहेको आर्थिक संयोजक सोम तामाङले जानकारी दिए । साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यलाई बिश्व माझ चिनाउन पनि यो प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने मेयर आनन्दराज त्रिपाठीले बताए । खेलाडी उत्पादन गर्न पनि यस्ता प्रतियोगिताले सहयोग पुर्याउछ । तर सुबिधा सम्पन्न खेलमैदान नभएकाले त्यसको बिषयमा पनि सोच्नुपर्ने समय आएको उहाँले बताउनु भयो । भानुभक्त राष्ट्रकाे गहना भएकाले यसको बिकासमा पनि राज्यले चासो लिनुपर्ने मेयर त्रिपाठीको भनाइ थियो । नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले खेलकुदले शारीरिक एवं मानसिक बिकासमा समेत सहयोग पुग्ने र राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले क्लबले यस्ता प्रतियोगिता समय समयमा संचालन गर्दै आइरहेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।
त्यसैगरी छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैबीच १७औं भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यालाई लिएर भन्सारमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ तनहुँ विजयी भएको छ । मैत्रीपूर्ण फुटबलमा महासंघ तनहुँले आयोजक भन्सार युवा परिवारलाई ४–३ गोलले पराजित गरेको हो । मैत्रीपूर्ण खेलमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी समेत खेल्नु भएको थियो । खेल निकै प्रतिस्पार्धात्मक रुपमा भएको पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले बताउनु भयो । १५÷१५ मिनेटको खेल गरिएको थियो । पत्रकार सम्मेलन पश्चात मैत्रीपूर्ण खेल गरिएको हो । २११औं भानु जयन्तीका अवसरमा यही साउन १९ गतेबाट हुने १७औं भानुकप फुटबल प्रतियोगितालाई लिएर आयोजक र पत्रकार बीच मैत्रीपूर्ण फुटबल गरिएको थियो ।