इलाका प्रहरी कार्यालय भिमाद तनहुँले अवैधानिक रुपमा नदीजन्यपदार्थ उत्खनन गर्ने पाँच सवारी साधानलाई सोमबार नियन्त्रणमा लिएको छ । भिमाद नगरपालिका–५ स्थित झकाश घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थमा उक्त सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८, लु १ क ४०६६ , लु १ क ३८३९, लु १ क ३८३७ नम्बर रहेको चार वटा टिपर र अल्फाबेट नखुलेको ५९८ नं.को एक जेसिविलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका टिपर र जेसेविलाई भिमाद नगरपालिकामा बुझाइएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामिले जानकारी दिए । भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेपनि लुकिछिपि उत्खनन् गर्दै आएको उनले बताए । मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको समेत उनले जानकारी दिए ।