व्यास नगरपालिकाको वडा स्तरिय योजना तर्जुमा कार्यक्रम सुरु भएको छ । स्थानीय तहले २०७९ असार १० गते भित्र नीति तथा कार्यक्रम र वजेट तथा कार्यक्रम नगर सभामा पेश गरिसक्नुपर्ने छ। आगामि आ ब २०७९/८० का लागि विषयगत क्षेत्रहरुमा समावेशी नीति,समावेशी वजेट तथा कार्यक्रमहरु संलग्न गर्दै आवधिक, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमाका प्रकृयामा रणनैतिक योजना समेट्दै साझा विकासका अभियान लिएर अगाडि बढ्नुपर्ने छ ।

वडा नं १ को वडा स्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले अधुरा कार्य हरु सम्पादन र सिमित स्रोत र साधनको अधिकतम उपयोग गरि हर नगरवासीका दैनिकि सहजिकरणका लागि यस वर्षको वजेट तथा कार्यक्रमले पक्कै पनि विश्वास दिलाउनेछ भन्ने धारणा स्पष्ट पार्नुभएको थियो । दिगो विकासको अभिभारा र आशा लिएर नगरवासीका साना साना समस्या देखि नगरस्तरीय , प्रदेश स्तरीय र राष्ट्रिय स्तरका योजना कार्यान्वयन प्रकृयामा व्यास नगरपालिका सदैव तत्पर रहने उप प्रमुख इन्दिरा दरैले बताउनुभयो । वजेट सिलिङ र विषयगत क्षेत्रलाई मध्ये नजर गर्दै योजना बाडफाड गर्नुपर्ने छ भने वजेटको आकारलाई ख्याल गर्दै सार्वजनिक खरिद प्रकृया र उपभोक्ता समिति मार्फत कार्य सम्पादन पनि गराउनुपर्ने छ । आज वडा न १ र १४ मा कार्यक्रम सम्पन्न भएको छ ।