तनहुँको भिमाद नगरपालिकामा सेती नदीको कटानले जोखिममा परेका बस्तीलाई संरक्षण गर्न ग्याबिन तटबन्ध निर्माण अघि बढेको छ । विगत केही वर्षदेखि नदी कटानले भिमाद बजार क्षेत्रमा प्रत्यक्ष असर पु¥याउँदै आएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले हालै स्थलगत निरीक्षण गर्दै सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सेती नदीको कटानले यहाँका बस्तीलाई बर्सौंदेखि खतरा बनाउँदै आएको छ । भौतिक पूर्वाधारको संरक्षण र नागरिक सुरक्षालाई राज्यको मुख्य दायित्व मान्दै, आवश्यक बजेट उपलब्ध गराइने छ । यो तटबन्धले नजिकका बस्ती मात्र होइन, सम्पूर्ण नगरको दीर्घकालीन विकासमा योगदान दिने उहाँले बताउनुभयो । भिमादको सुरक्षा र समृद्धिका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।”
सेती नदीको कटानले गर्दा करिब ३५ घरधुरी उच्च जोखिममा रहेको भिमाद नगरपालिकाले जनाएको छ । जोखिम न्यूनीकरणका लागि करिब दुई सय मिटर लम्बाइमा ग्याबिन तटबन्ध निर्माण अघि बढाइएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा १८ करोड रुपियाँको लागतमा टेवा पर्खाल निर्माणका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार गरिएको छ । प्रस्तावित रिटेनिङ वालको उचाइ ५०/६० मिटर रहने बताइएको छ ।