जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताउनुभयो । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।विसं २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ ।
पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार ६९० (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण सम्पन्न गरिएको हो ।यसमा सङ्घीय सरकारको रु एक करोड ३५ लाख रहेको छभने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गर्नुभएको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाई मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो ।पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।