तनहुँ जिल्ला भलिबल सङ्घको आयोजनामा आजदेखि सदरमुकाम दमौलीमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । भलिबल खेलतर्फ युवालाई आकर्षित गराउँदै दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित सङ्घले अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिका बाहेक नौ वटा पालिकाको सहभागिता रहेको छ । सङ्घका अध्यक्ष पदम सुनारका अनुसार प्रतियोगितामा व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकाको सहभागिता रहेको छ ।
जिल्लामा लामो समयपछि अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल खेलतर्फ युवाहरुको आकर्षण बढेपनि जिल्लास्तरीय प्रतियोगिता सञ्चालन हुन सकिरहेको थिएन । सुनारले भन्नुभयो, “भलिबल खेलमा युवाको आकर्षण छ, यसमा सम्भावना पनि छ । तर जिल्लामा जिल्लास्तरीय प्रतियोगिता नभएको धेरै वर्ष भयो । यो खेलले दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौ ।”प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु ५१ हजार एक सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ टफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट प्रशिक्षका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि आगामी बजेटमा सम्बोधन गरिने बताउँदै उहाँले भन्नुभयो, “युवाहरु प्रत्यक्ष जोडिने खेलकुदको विकासका लागि जिल्लाका सबै स्थानीय तहको सामूहिक प्रयास आवश्यक छ ।”जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले नेपालको भूगोल सुहाउँदो खेल भलिबल रहेकाले यसतर्फ युवाको आकर्षण बढ्दो रहेको उल्लेख गर्नुभयो । व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले खेलकुदको विकासका लागि वडा र नगरपालिकाले सधंै सहयोग गरेको बताउनुभयो । कराँते महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाले खेलकुदलाई सरकारी पक्षबाट कम सहयोग रहने गरेको गुनासो गर्नुभयो ।