तनहुँको व्यास नगरपालिका वडा नं. ९ मा संचालित प्रथम वडा कप २०८१ सेभेन ए साईड फुटवल प्रतियोगितामा सोमबार वशाहस्थान टोल विकास संस्थाले १४ टिमलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेको छ । प्रथम स्थान प्राप्त गरेको उक्त संस्थाले कर बाहेक १५ हजार रुपैंयाँ, ट्रफी र मेडल प्राप्त गरेको हो ।खेलकुदको विकासमा सकृय रहेको व्यास ९ गजौडेस्थित संगम युवा क्लवको आयोजना र वडा नं. ९ को सहयोगमा भएको प्रतियोगितामा वडा भित्रका १५ टिम सहभागी रहेका थिए । आयोजक क्लवले दोस्रो स्थान प्राप्त गरी १० हजार रुपैंयाँ नगद, ट्रफी , मेडल र सिमलचौर टोल विकास संस्थाले तेस्रो स्थान प्राप्त गरी ५ हजार रुपैंयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेका संगम युवा क्लवका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए । स्वस्थ जीवनको लागि खेलकुद भन्ने मुल नाराका साथ संचालित प्रतियोगिता ५ गतेदेखि संचालन भएको थियो । खेलकुदको माध्यमबाट मुलुकलाई चिनाउने खेलाडी जन्माउन सकिने भएकोले आफूहरुले फुटवल प्रतियोगिता संचालन गरेको आयोजक क्लवका अध्यक्ष गुरुङले बताए । वडा भित्रका हरेक टोलवासीबाट प्रतियोगितामा सकारात्मक प्रतिक्रिया पाएकोले आफूहरुलाई थप हौसला मिलेको समेत अध्यक्ष गुरुङको भनाई छ ।

प्रतियोगितामा पुरस्कृत खेलाडीलाई नगद, ट्रफी र मेडल प्रदान गर्दै व्यास नगरपालिका ९ नम्बर वडा अध्यक्ष सुरेश थापाले खेलकुदको विकास हुनु भनेको नै स्वथ्य नागरिकको विकास गर्नु भएको बताए । खेलकुदमा समर्पित खेलाडीको कारण आज विदेशमा समेत नेपालको नाम चिनाउन सकिएकोमा गर्व गर्नुपर्ने वडा अध्यक्ष थापाको भनाई छ । खेलकुदले व्यक्तिलाई अनुशासन पनि सिकाउने भएकोले घरवाहिर वा भित्र खेलिने खेलमा आफ्ना वालवालिकालाई अग्रसर गराउन अध्यक्ष थापाले वडावासीलाई आग्रह समेत गरे । आफूले खेलकुदको विकासमात्र नभई सवै विचार राख्ने वडावासीमाझ विना भेदभाव समान तवरले विकास निर्माणको कार्यमा सहभागी भएकोले वडावासीको साथ, सहयोग र हौसला पाएको अध्यक्ष थापाले बताए ।कार्यक्रममा स्थानीय समाजसेवी भोटबहादुर थापा, कलेस्ती उपत्यका महिला विकास संस्थाका अध्यक्ष रामप्यारी आले, राजापानी टोल विकास संस्थाका अधयक्ष रामचन्द्र रेग्मी, समाजसेवी रुपबहादुर अधिकारीले मुलुकको समृद्धि र विकासको पहिलो आधार नै खेलकुदको विकास भएको बताए । कार्यक्रमको संचालन आयोजक क्लवका उपाध्यक्ष धर्मराज गोदारले गरेका थिए ।कार्यक्रममा युवा, स्थानीय, महिला लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।