काठमाडौँ । नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अब ‘एकीकृत’ नरहने भएको छ । पार्टी तीन टुक्रामा विभाजन भएको हो ।
अध्यक्ष नेपाल अर्थात् बहुमत नेताहरू माओवादी केन्द्रसहितका १० वाम घटकसँग पार्टी एकता प्रक्रियामा सहभागी भएसँगै उक्त पार्टी विभाजित बन्न पुगेको छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरू नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा सामेल भएका छन् । अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडालगायतका नेता पनि एकता प्रक्रियामा सामेल भएका छन् ।
महासचिव घनश्याम भुसालले भने नेकपा एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान चलाउने घोषणा गरेका छन् । भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ तथा दामोदर अर्याललगायतले साथ दिएका छन् । भुसाल पक्षले बुधबारै पत्रकार सम्मेलन गरी क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्दै आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन् ।
