काठमाडौ । नयाँ नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै व्यवस्थापन गरिने भएको छ । संहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजना रहेको स्रोतले जानकारी दियो ।
सिंहदरबारको रामशाहपथ तर्फको मूल प्रवेशद्वार पूर्णरुपमा क्षतिग्रस्त भएको छैन । प्रधानमन्त्री कार्यालयबाहेक अन्य मन्त्रालय सरसफाइ गरेर काम गर्न सकिने अवस्थामा छन् । अहिले मुख्य सचिवले केही सचिवहरुसहित सिंहदबारमा भएको क्षतिको अनुगमन गरिरहेका छन् । प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्नेबारे उनले गृहकार्य गरिरहेको स्रोतले बताएको छ ।
बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने निक्र्यौल भएको छैन । सबै कुरा मिले आजै नै शपथ गराइने स्रोतको दावी छ ।
मुख्य सचिव नेतृत्वको टोलीले अहिले सिंहदरवारभित्रको क्षति निरीक्षण र मुल्यांकन गरेको छ । प्रधानमन्त्री कार्यालयसहित गृह र शिक्षा मन्त्रालय कामे नलाग्नेगरी ध्वस्त पारिएका छन् । परराष्ट्र र कानून मन्त्रालय सग्लै छन् भने अन्य कतिपय मन्त्रालयमा पनि कामचलाउ व्यवस्था गर्न सकिने अवस्था छ ।
त्यसैले यीनैमध्ये एक ठाउँबाट अन्तरिम प्रधानमन्त्रीको अन्तरिम कार्यालय सञ्चालनको व्यवस्था गरिने एक सचिवले बताए ।