नेकपा एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेकी छन् । काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेकी हुन् । 

 पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सूर्यअंकित ब्यानर राखियो भने जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको थियो ।

पत्रकार सम्मेलनमा भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताइन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् । उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् । 

‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।