काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना स्थापना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विहिबार उक्त गुनासो व्यवस्थापन केन्द्रको कार्य सन्चालन शुभारम्भ गर्नुभयो । गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित् विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ । उक्त अवसरमा बोल्दै मन्त्री न्यौपानेले उक्त केन्द्रमा आएका गुनासाहरु जतिसक्दो चाँडो प्रक्रियागत रुपमा समाधान हुने बताउनु भयो । सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने मन्त्री न्यौपानेले बताउनु भयो । गुनासो व्यवस्थापनको कार्य गर्न मन्त्रालयका उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ । गुनासो व्यवस्थापन केन्द्रले गुनासाहरुको संकलन, वर्गीकरण र सम्बोधन गर्नेछ । कुनै निर्धारित विधि र प्रक्रिया पुरा गर्नु नपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । गुनासो केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासो भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्वोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखयाट तत्कालै सम्बोधन हुनेछ । शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकता अनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुने मन्त्रालयका सचिव रविलाल पन्थले बताउनु भयो । नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ । सरोकारवाला तथा सेवाग्राहीले मन्त्रालयको हटलाइन टेलिफोन नम्बर, मोवाइल नम्बरः ९८५१२७७२१०, ९८५१२७७२११, इमेल gunaso@mofaga.gov.np तथा मन्त्रालयको ट्विटर र फेसवुक मार्फत गुनासो गर्न सकिने मन्त्रालयले जनाएको छ ।