राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।राष्ट्रियसभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शारदादेवी भट्टले सरकार बाढीपहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताउनुभयो ।यसैबीच आज विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमध्ये विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यतालिका छ ।