राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राख्नुभएको छ ।उहाँहरुले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई अवगत गराउनुभयो । अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिनुभयो । सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताउनुभयो ।