नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी साँसद जीवन परियारले जातीय विभेद र छुवाछुत गर्ने जोकोही व्यक्तिसंग सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँद्वारा १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सोमबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । जातीय विभेद र छुवाछुत बिरुद्ध लड्न कानूनले पूर्ण अधिकार प्रदान गरेकाले पछि हट्न नहुनेमा उनले जोड दिए । नेपालको संविधान धारा २४ मा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितका हकसंम्बन्धिउल्लेख भएपनि कार्यन्वयनमा आउँन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । जातीय विभेद र छुवाछुतका घट्नामा जुनसुकै पार्टी र व्यक्तिले गरेपनि प्रतिवाद गर्न पछि हट्न नहुने उनले बताए । तपाईहरु जाग्नुस् र जुट्नुस,“जातीय विभेदको बिरुद्धमा डटेर प्रतिवाद गर्नुस् साथमा हामी छौ ।” उनले भने यो मुलुकको विकासका लागि झण्डै पचास लाख दलितहरुको विकास हुन जरुरी छ । सधैं जातीय छुवाछुतको मारमा रहिरहने हो भने देशमा विकासले गति लिन नसक्ने उनले ठोकुवा गर्नुभयो ।

आर्थिक विकासलाई मात्रै विकास मान्न सकिदैन्,उनले भने,“सामाजिक,साँस्कृतिकसहितको विकास हामीलाई चाहिएको हो ।” मुलुकमा दिवस मात्रै मनाएर हुदैन राज्यले एक किसिमको योजना बनाएर छुवाछुव उन्मुलन राष्ट्र घोषणा गरिनुपर्ने उनको भनाई थियो । पनि यही देशका नागरिक हौ,उनले भने,“देश नागरिक भएकाले अंश खोज्ने अधिकार पनि त्यति नै छ ।” कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधी साँसद रणेन्द्र बरालीले कानूनमा मात्रै नभई व्यवहारिक रुपमा जातीय विभेद र छुवाछुत सदाका लागि अन्त्य गरिनुपर्नेमा जोड दिए । आन्दोलनबाट प्राप्त उपलव्धिलाई रक्षा गर्दै छुवाछुत अन्त्यको मुद्धालाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए । संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका संयोजक एवं पूर्व गण्डकी प्रदेश मन्त्री डोबाटे बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश साँसद श्यामराजा महत,नेकपा एमाले केन्द्रीय सदस्य सविता रसाइली,जिल्ला समन्वय समिति अध्यक्ष शान्तिरमण वाग्ले,नेकाँ तनहुँ उपसभापति देवकुमार श्रेष्ठ,नेकपा एमाले जिल्ला उपसचिव सुनिता नेपालीले आ आफ्ना धारणा राखेका थिए ।

त्यसैगरी कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष हरिराज कँडेल,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदन,रास्वपा जिल्ला संयोजक बिश्व बास्तोला,नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार बिक,भानु नगरपालिका उपप्रमुख उमा गोतामे,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,दलित संघ तनहुँका अध्यक्ष रामकृष्ण बिक,नेकाँ प्रदेश सदस्य अमृत बहादुर नेपाली,दलित मुक्ति मोर्चा अध्यक्ष डिलबहादुर नेपाली,ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा,मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, लगायतका वक्ताहरुले छुवाछुत सामाजिक अपराध भएकाले निरुत्साहित गर्न आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य जौमाया बिक र संचालन संघर्ष समितिका सदस्य सचिव शालिकराम सुनारले गरेका थिए ।