गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताउनुभएको छ ।आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरिएको बताउनुभयो ।यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले पत्रकारको क्षमता अभिवृद्धिका लागि लेखनवृत्तिलगायत कार्यक्रम कार्यान्वयन गरेको पनि उहाँले बताउनुभयो । “देशमा हुने हरेक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका छ ।

पछिल्लो परिवर्तनलाई संस्थागत गर्न यहाँहरूबाट सकारात्मक सहयोगको आवश्यकता छ । त्यसैले अझै निर्भिकताका साथ कलम चलाउन आग्रह गर्दछु”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“सबै जिल्लामा महासङ्घको भवन बनाउनुपर्छ भन्ने महासङ्घको अभियानमा प्रदेश सरकारको साथ र समर्थन छ । त्यसबाहेक पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।”बेसीसहर नगरपालिका वडा नं ३ मा निर्मित महासङ्घ लमजुङ शाखाको भवनका लागि गण्डकी प्रदेश सरकारले रु ३५ लाख सहयोग गरेको थियो । गोरखा, लमजुङ र तनहुँमा महासङ्घको भवन बनाउन प्रदेश सरकारले सहयोग गरेको थियो भने बाँकी जिल्लामा पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।