गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले दलीय आधारमा न्यायाधीश नियुक्त गर्ने चलन परिपाटी बसालिरहेकाले यसलाई नहटाएसम्म स्वतन्त्र न्यायलिकाको कल्पना गर्न नसकिने बताउनुभएको छ ।आज बेँसीसहर नगरपालिका–३ मा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले दलीय स्वार्थ र न्यायाधीश अनुकूल न्याय गर्ने प्रविधिको सम्भावना रहेकाले कानुन तथा संविधानबाट यसको ‘प्राक्टिस’ सबै बदल्नुपर्ने बताउनुभयो । यदि बदल्न सकेन भने नेपालमा न्याय मर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यस्तै उहाँलाई यतिबेला हरेक कुराहरू न्यायालयमा पुग्न थालेका छन्, त्यो स्वाभाविक पनि हो, त्यस्तै अहिले सत्ताशीन दलहरुले संविधानको क्षेत्र खोजेर सरकार गिराउने र बनाउने प्रयत्न भइरहेकाले यो दुःखदायी कुरा हो, यसरी संविधानको छित्र खोजेर र मैले जे गरे पनि हुन्छ ।” सत्ता टिकाउने खेलमा मात्रै अघि बढ्यो भने संविधान र अहिलेको व्यवस्था बचाउन नसकिने उहाँले बताउनुभयो । संविधान र सङ्घीय व्यवस्थाप्रति अहिले चारैतिरबाट प्रहार भइरहेकाले यसको जवाफ कामबाट दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाँच वर्षको स्थिर सरकारका लागि चुनावमा माओवादीसहित अन्य दलसँग नेपाली कांग्रेस मिलेर गठबन्धन गरेर अघि बढेको र त्यसले केही परिणाम दिए पनि पहिले मुख्य मान्छे नै अस्थिर हुँदा मुलुकले स्थिरता पाउन नसकेको मुख्यमन्त्री पाण्डेको आरोप छ । त्यसैले पाँच वर्षको अस्थिर सरकार बनाउन एउटा चुनौती रहेको उहाँको भनाइ छ । पत्रकार महासङ्घको भवनका लागि रु ३५ लाख प्रदेश सरकारले सहयोग गरेको र आगामी दिनमा थप रकम समेत सहयोग गर्ने उहाँको भनाइ छ । पत्रकारहरुलाई सहज रूपमा काम गर्नलाई सरकार र मन्त्रीबाट धम्की तथा असहज परिस्थितिको सिर्जना हुने गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । विगतमा राजाका बेला, माओवादीको दण्डको बेलामा र विभिन्न समस्याका बेलामा समेत निरन्तर पत्रकार अघि बढ्दै आएको तथा आगामी दिनमा समेत कसैसँग नझुकी पत्रकारलाई अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

प्रदेशका अर्थमन्त्री टकराज गुरुङले संविधान र राजनीतिक उपलब्धिप्रति प्रहार गर्ने काम भइरहेको लोकतन्त्र तथा स्वतन्त्रका लागि हामी लड्दै आएका र यो व्यवस्थाभित्र स्वतन्त्र पत्रकारिता हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले यसअघि पनि लमजुङले बजेट कम नगराएको र झन् यस वर्ष यस जिल्लालाई बजेट बढाउने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेद्रीय सदस्य किसान सङ्गीत नेपालीले व्यावसायिक पत्रकारको पीडा र मर्कामा राज्यले उचित ध्यान दिनुपर्ने तथा मिडियामैत्री योजना कार्यक्रम राज्यले ल्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले पत्रकारको भवन निर्माणले पत्रकारका लागि सहज वातावरण हुने बताउनुभयो ।स्वावलम्बी समाज सेवा केन्द्र नेपालले निःशुल्क उपलब्ध गराएको १० आना र पत्रकार महासङ्घ जिल्ला शाखाले तीन आना रु साढे पाँच लाखमा खरिद गरी १३ आना जग्गामध्ये करिब पाँच आनामा भवन निर्माण गरिएको छ । दुईतले भवनमा ११ कोठा रहेका छन् । हालसम्म करिब रु ९५ लाख खर्च भएको भवन निर्माण समितिका सचिव नवीनराज कुइँकेलले बताउनुभयो ।