सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा पर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि गोरखकाली रबर उद्योग सञ्चालन गरिनेसम्मका योजना समेटिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्न प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ । हाल आन्तरिक उडान मात्र भइरहेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटकीय राजधानी पोखरामा अर्बौँ लगानीमा बनेको उक्त विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठ्दै आएको छ ।सरकारले वर्षौँदेखि बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने योजना अगाडि सारेको छ । उद्योगको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ । विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पनि बन्द अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आउने गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइ नसकेको जनाइएको छ । गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै १० अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

यस्तै आगामी आवदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो । गोरखा र धादिङको सीमानामा पर्ने बुढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौँदेखि अन्यौलमा रहँदै आएको थियो ।गोरखामै एग्रो इण्डस्ट्रियल पार्क बनाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने भएको छ । गण्डकीका अधिकांश जिल्ला समेट्ने मध्यपहाडी लोकमार्गलाई समृद्धि कोरिडोरका रुपमा विकास गर्न विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकास गरी उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रणनीतिक महत्वको सालझण्डी–ढोरपाटन सडक र पोखरा–मुग्लिन सडक निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । कालीगण्डकी करिडोरलाई बाह्रैमास यातायात सञ्चालन हुने गरि निर्माणलाई तीव्रता दिइने भएको छ । प्रदेश राजधानी पोखरामा रहेका सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्यामा स्तरोन्नति गरी विस्तार गरिने भएको छ । गण्डकी प्रदेशलगायत देशका उच्च हिमाली भेगका हिमश्रृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरीलगायत पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्ध कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य श्रष्टाहरुको प्रतिमा र सप्तधामसहितको ‘भानु साहित्य उद्यान’ निर्माणलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।