कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा जाहेरी परेको छ । कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत भन्ने शिर्षकमा समचार सिधा कुरा डट कमले प्रकाशन गरेको छ । हेरौँ सिधा कुरा डट कमले प्रकाशन गरेको समचार जस्ताको जस्तै ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्तेमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा आइतबार उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीकाअनुसार सिरोहियाविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको छ । सो सम्बन्धमा अनुसन्धान अघि बढेको छ। 

सिधाकुरालाई प्राप्त सिरोहियाको नागरिकता सम्बन्धी केही विवरणहरू हेरौँ 

धनुषा स्थायी घर भएको भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएका सिरोहियाले फरक फरक २ वटा नागरिकता नम्बर प्रयोग गरेका छन् । तर, ति दुवै नागरिकतामा कैफियत देखिन्छ ।

जसका लागि हामी केही अघिको एउटा समाचार र सामाजिक सञ्जालमा उपलब्ध सिरोहियाको एक डकुमेन्टबाट खोजी सुरु गर्नुपर्छ । २०७८ सालको बीमापाेस्टकाे एउटा समाचार सामाजिक सञ्जालमा भाइरल भयो । समाचारमा हिमालयन रिइन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको सेयर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले लिएको उल्लेख थियो । समाचारसँगै एउटा दस्तावेजको टुक्राको फोटो पनि राखिएको थियो जसमा केही औँठाछाप पनि देखिन्छ ।

कम्पनीको प्रबन्धपत्र जस्तो देखिने उक्त फोटोमा नाम कैलास प्रसाद सिरोहिया, ठेगानाः धनुषा जिल्ला, जनकपुर नगरपालिका, वडा नम्बर ५ लेखिएको छ भने सँगै स्व। घाँसीराम सिरोहिया पनि लेखिएको छ, जुन उनका पिताको नाम हो । त्यसको अर्को लहरमा २८३९८८८६ धनुषा लेखिएको छ, जुन नागरिकता नम्बर हो । यो कम्पनीले कम्पनी रजिस्ट्रारमा बुझाएको डकुमेन्टका तीन ठाउँमा कैलासको नागरिकता प्रमाणपत्र नम्बर २८३९८८८६ लेखेको छ । तर, धनुषा जिल्ला प्रशासन कार्यालयमा २८३९८८८६ नम्बरको नागरिकताको रेकर्ड नै छैन । यो नम्बरको नागरिकता धनुषाबाट जारी नै नभएको जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो।

हिमालयन रिइन्स्योरेन्सको डकुमेन्टमा अभिलेखमै नरहेको गलत नागरिकता नम्बर राखेका सिरोहियाले मतदाता नामावलीमा भने आफ्नो नागरिकता नम्बर फरक राखेका छन् ।

यहाँ उनको नागरिकता नम्बर रहेको छ ३९६९८८८६ अर्थात हिमालय रिइन्स्योरेन्सको डकुमेन्ट र मतदाता नामावलीमा सिरोहियाको दुई वटा नागरिकता नम्बर छ । ती दुई नम्बरमा अघिल्ला तीन अङ्क फरक छन् भने पछिल्ला पाँच अङ्क समान छन्। काठमाडौँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत वडा नम्बर ४ को क्रम संख्या ३९४ मा रहेको यो मतदाता नामावलीको अभिलेख हेर्नुस् ।

सिरोहियाले राष्ट्रिय परिचयपत्र लिँदा पनि यही नागरिकता नम्बर प्रयोग गरेका छन् । त्यसैगरी ड्राइभिङ लाइसेन्स लिन पनि यही नागरिकता नम्बर प्रयोग गरेका छन् ।

त्यसैगरी यही नागरिकता नम्बर प्रयोग गरी सिरोहियाले राहदानीसमेत समेत लिएका छन् । उनले लिएका पछिल्ला तीन वटा पासपोर्ट नम्बरहरू हुन्  :

सन् २०१३ मार्च २१ मा जारी भएको ०६३८३६३९ नम्बरको राहदानी

सन् २०१७ जुलाई १२ मा जारी भएको १०४६५११५ नम्बरको राहदानी

सन् २०२३ सेप्टेम्बर १५ मा जारी भएको डीए०००१७९३ नम्बरको राहदानी

तीन राहदानीमध्ये तेस्रो रातो पासपोर्ट अर्थात कूटनीतिक राहदानी हो । अचम्म चाहीँ के छ भने सिरोहियाको कुटनीतिक राहदानीमा भएको नागरिकता नम्बर पनि सही भने देखिएन । किनभने देशभरका नागरिकताको विद्युतीय अभिलेख रहने सरकारी प्रणाली सीएमआईएस सफ्टवेयरमा यो नम्बरको नागरिकतामा कैलास प्रसाद सिरोहियाको होइन, धनुषाका शिवजी साहु तेलीको नाम रहेको छ । निर्वाचन आयोगको मतदाता नामावलीमा पनि नागरिकता नम्बर ३९६९८८८६ मा शिवजी साहु तेलीकै नाम रहेको देखिन्छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने शिवजी साहु तेलीको नागरिकता नम्बर र कैलास प्रसाद सिरोहियाले हाल चलाउने गरेको नागरिकता नम्बर एउटै छ । दुवैको नागरिकता नम्बर ३९६९८८८६ हो । दुवै जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएका नागरिकता हुन् ।

के एउटै नागरिकता नम्बर दुई जनाको हुन सम्भव छ ?

दुई मध्ये एकको नागरिकतामा कैफियत छ । शिवजी साहु तेलीले आफ्नो नागरिकताको दुई वटा प्रतिलिपि निकालिसकेका छन्। प्रतिलिपि जतिवटा निकाले पनि नागरिकता नम्बर भने उही हुने गर्छ । उनले पहिलो प्रतिलिपि २०७६ साल माघ २७ गते लिएका हुन् भने दोस्रो प्रतिलिपि २०८० पुस २० गते लिएका हुन् ।

शिवजी साहु तेलीले सिधाकुरालाई बताएअनुसार उनको सक्कल नेपाली कागजमा रहेको नागरिकता पहिलो प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयमा नै राखिएको थियो ।

उनको पहिलो नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकारीको नाम लक्ष्मीप्रसाद भट्टराई, दर्जा प्रशासकीय अधिकृत र जारी मिति २०३६ साल भदौ २० गते रहेको छ । तर, उही नम्बर रहेको कैलास प्रसाद सिरोहियाको नागरिकताको जारी मिति भने खुल्दैन । उनले हाल चलनचल्तीमा ल्याइरहेको नागरिकतामा पहिलो प्रतिलिपि २०५७/६/२९ लेखिएको छ ।

शिवजी साहु तेलीले सिधाकुरालाई बताएअनुसार उनको सक्कल नेपाली
कागजमा रहेको नागरिकता पहिलो प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयमा नै
राखिएको थियो ।

उनको पहिलो नागरिकता प्रमाणपत्र जारी गर्ने
अधिकारीको नाम लक्ष्मीप्रसाद भट्टराई, दर्जा प्रशासकीय अधिकृत र जारी मिति
२०३६ साल भदौ २० गते रहेको छ । तर, उही नम्बर रहेको कैलास प्रसाद
सिरोहियाको नागरिकताको जारी मिति भने खुल्दैन । उनले हाल चलनचल्तीमा
ल्याइरहेको नागरिकतामा पहिलो प्रतिलिपि २०५७/६/२९ लेखिएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बरमा पनि यही प्रतिलिपि जारी भएको मितिलाई नै जारी मिति मानिएको छ । जबकि यसमा पहिलो पटक नागरिकता जारी गरेको मिति उल्लेख हुनु पर्ने हो ।

सिरोहियाले हाल चलनचल्तीमा ल्याइरहेको नागरिकतामा न जारी मिति खुल्छ, न प्रमाणपत्र दिने अधिकारीको नाम र दर्जा खुल्छ । त्यसमा मात्र ०३३/३४ को रेकर्ड अनुसार लेखिएको छ।

सिधाकुराले केही पूर्व प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा गर्दा त्यतिबेलाको प्रचलन अनुसार टोली खटेर नाम संकलन हुन्थ्यो। टोलीले उमेर पुगेकाको बालिगमा र नपुगेकाको नाबालिगका रुपमा नाम संकलन गर्थे। त्यही टोलीले दिएको निस्साकै आधारमा नागरिकता दिइन्थ्यो।

ढड्डामा नाम हुनुको मतलब नागरिकता जारी हुनु होइन। नाम छ भन्ने जानकारी मात्र हो।

तर हामीलाई प्राप्त कागजात अनुसार उक्त ०३३/३४ को ढड्डामा समेत कैलास प्रसाद सिरोहियाको नाम अरु भन्दा फरक रङको मसीले लेखेको देखिन्छ ।  त्यसैले उनको पहिलो नागरिकता कुन मितिमा कहिले जारी भयो खुल्दैन।

अब जाउँ प्रतिलिपि लिँदाको नागरिकतातर्फ, जुन उनले हालसम्म चलनचल्तीमा ल्याइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको सिरोहियाले प्रतिलिपि लिँदाको २०५७ सालको ढड्डामा पनि कैलास प्रसाद सिरोहियाको नागरिकतामा प्रमाणपत्र दिने अधिकारीको रातो मसीको हस्ताक्षर देखिँदैन । न त फोटोमा छुने गरी अधिकारीको रातो मसीको हस्ताक्षर नै देखिन्छ ।

एउटै नम्बरमा दुई जनाको नागरिकता देखिनु, दुवै एउटै जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हुनु, एक जनाको नागरिकताको मात्र सीआईएमएसमा अभिलेख हुनु, सिरोहियाको नागरिकता सबैभन्दा पहिले जारी भएको मिति नहुनु, प्रतिलिपि लिँदाको ढड्डामा समेत प्रमाणपत्र दिने अधिकारीको हस्ताक्षर नभेटिनुले उनको नागरिकता नै नक्कली र कैफियत पूर्ण रहेको देखिन्छ ।

के हुन्छ कारबाही ?

नेपालको नागरिकता ऐनले झुटो वा कीर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

त्यसै गरी कसैले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा त्यस्तो प्रमाणपत्र रद्द गर्ने व्यवस्था पनि नागरिकता ऐनले गरेको छ ।

के भन्छन् सिरोहिया ?

धनुषामा नागरिकता किर्तेमा जाहेरी परेपछि सिरोहियाले एक ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन् । जसमा आफुले दोहोरो नागरिकता नलिएको सिरोहियाको दाबी छ ।

सिरोहियाले आफ्नो ध्यानाकर्षण पत्रमा २०३३/३४ मा लिएको नागरिकताबाहेक अन्य नागरिकता नलिएको र २०५७ मा प्रतिलिपि मात्र निकालेको दाबी गरेका छन् । ‘नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति मेरो ध्यानाकर्षण भएको छ,’ सिरोहियाले भनेका छन् ‘२०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३/३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।’

उनले २०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने त्यसमा आफ्नो जिम्मेवारीको विषय नहुने भन्दै उनले हिमालयन रि इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले जानकारी दिएको र प्रबन्ध पत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा आफ्नो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफै स्थापित हुने उल्लेख गरेका छन् ।

हिमालयन रि इन्स्योरेन्सको शेयर लागतमा टाइप गलत भएको भनी सिरोहियाले दाबी गर्दा उनको दाबी स्वतः विवादास्पद देखिन्छ किनकी कम्पनीको कागजातमा टाइप भएको बाहेक हस्तलिखित नागरिकता नम्बर र हस्ताक्षर गरेका छन् । ती सबै कागजातमा एउटै नागरिकता नम्बर हुनुले सिरोहियाको दाबी स्वतः खारेज योग्य देखिन्छ।

कम्पनीको डकुमेन्ट केही गरी सार्वजनिक भएमा नागरिकता नम्बर अरुसँग नमिलेको देखाउन पनि यसो गरिएको हुनसक्ने सम्भावना छ। किनभने नियतबस नभए गल्ती एक पटक एक ठाउँमा हुन्छ, चार ठाउँमा हुँदैन।

त्यसो त कैलासकै दाबीलाई मान्ने हो भने पनि उनले नेपाली नागरिकता १५ वर्षको उमेरमा नै पाएको पुष्टि हुन्छ । मतदाता परिचयपत्रमा २०१९ मंसिर २९ गते उनको जन्म मिति लेखिएको छ। २०५८ मा उनले लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ। त्यसमा २०३३/३४ मा जारी भएको अभिलेखको आधारमा नागरिकता पाएको उल्लेख छ। जबकि हिसाब गरी हेर्दा त्यतिबेला उनको उमेर १५ वर्षमात्रै हुन्छ। नागरिकताको प्रमाण पत्र पाउन १६ वर्ष पुग्नुपर्छ ।

https://www.sidhakura.com/news/yrv6HZ-2024-04-30-054636