दुलेगौंडा । स्थानीय तहको निर्वाचन भएको झण्डै दुई बर्ष पछि मात्र तनहुँको शुक्लागण्डकी नगरपालिकामा नगर स्तरीय दलित सञ्जाल गठन भएको छ । समुदायको विकास सँग आवश्यक योजना निर्माणमा समस्या भएको भन्दै नगरपालिकाले शनिबार कार्यपालिका सदस्य सन्तोष विकको संयोजकत्वमा १६ सदस्यीय नगर स्तरीय दलित सञ्जाल गठन गरेको हो । सञ्जालको सदस्यहरुमा १२ वटै वडाबाट प्रतिनिधित्व हुने गरी नारायण विक, दुर्गाबहादुर विक, जमुना सुनार, कोपिला परियार, मिरा विश्वकर्मा, रामबहादुर परियार, ईन्द्रकुमार विश्वकर्मा, पूर्णकला नेपाली, रमेश विक, लालुमाया परियार, मिनबहादुर सुनार, सृजना सुनार, सुस्मिता वि.क, तिलबहादुर विक र दिपक विक रहेका छन् । सञ्जालले दलित समुदाय अन्तर्गत पर्ने उपलब्ध सम्पूर्ण जातीको सहभागिता हुने गरि केही सदस्य थप गर्ने संयोजक विकले जानकारी दिए ।

विकले कार्य समितिको बैठक मार्फत सदस्यहरु मध्येबाट सदस्य सचिव चयन गरि कार्यक्रम गर्ने बताए उनका अनुसार सञ्जाल मार्फत जातीय रुपमा हुने विभेद विरुद्धका कार्यक्रम र समुदायका पुख्र्यौली पेशाको संरक्षण गर्नुका साथै सेचतना मुलक कार्यक्रम गर्ने योजना बनाउन पहल हुनेछ । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जातीय रुपमा हुने बिभेदको अन्त्य गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । उनले दलित समुदायको अवस्था पहिचान गर्न नगरपालिका लागि परेको बताउदै आगामी बर्ष आवश्यकता अनुसारका योजना निर्माण गरि सामुदायिक विकास गर्ने बताए । उक्त अवसरमा माओबादी नेता जौमाया बराल सुनार, पूर्व कार्यपालिका भरत लामगादे, कार्यपालिका सदस्य सन्तोष विक लगायतले दलित समुदायका मुद्धाप्रति राज्य र राज्य संञ्चालकहरु गम्भिर नहुदाँ समस्या न्यूनिकरण नभएको गुनासो गरेका थिए । कार्यक्रम नगरपालिका उपप्रमुख खुमबहादुर विक राजुको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गरेका थिए ।