काठमाडौँ । पृथ्वीको घुमाइ (रोटेसन) गत वर्षको तुलनामा यस गर्मीमा अझै तीव्र भएको पाइएको छ, जसका कारण दिन केही अंशले छोटिएका छन्। वैज्ञानिक र समय नियन्त्रक संस्थाहरूले यो परिवर्तनमा चासो देखाएका छन्।

जुलाई १० को दिन अहिलेसम्मकै सबैभन्दा छोटो भएको इन्टरनेसनल अर्थ रोटेसन एन्ड रिफरेन्स सिस्टम्स सर्भिस (आईआरएस) र यूएस नेभल अब्जरभेटरीको तथ्याङ्कमा देखिएको छ। त्यो दिन २४ घण्टाभन्दा १.३६ मिलिसेकेन्ड छोटो थियो। आगामी जुलाई २२ र अगस्ट ५ मा पनि क्रमशः १.३४ र १.२५ मिलिसेकेन्ड छोटो दिन हुने पूर्वानुमान गरिएको छ।

सामान्यतया एक दिनको लम्बाइ पृथ्वीले आफैँको अक्षमा एक पूरा घुमाइ पूरा गर्न लाग्ने समय,  २४ घण्टा वा ८६,४०० सेकेन्ड हो। तर वास्तवमा यो समय स्थिर हुँदैन। चन्द्रमाको गुरुत्वाकर्षण, मौसमी हावापानी परिवर्तन, र पृथ्वीको तरल केन्द्रको प्रभावजस्ता कारणले पृथ्वीको घुमाइमा सानो मात्रामा अनियमितता आउँछ।

यी साना समय फरकहरूले दैनिक जीवनमा प्रत्यक्ष असर नपार्लान्, तर दीर्घकालीन रूपमा कम्प्युटर प्रणाली, सेटेलाइट सञ्चार र अन्तरिक्ष प्रविधिमा असर पुर्‍याउन सक्छ। त्यही कारण यस्ता सूक्ष्म समय अन्तरहरूलाई सन् १९५५ यता ‘एटोमिक क्लक’ (परमाणु घडी) प्रयोग गरेर ट्र्याक गरिन्छ।

एटोमिक क्लकहरूले निर्वात कक्षमा राखिएका परमाणुहरूको कम्पन गणना गरी समयको एकाइ निर्धारण गर्छन्। यसरी तय गरिने समयलाई यूटीसी (कोओर्डिनेटेड युनिभर्सल टाइम) भनिन्छ, जुन हाल करिब ४५० वटा एटोमिक क्लकहरूको आधारमा तयार हुन्छ। यही यूटीसी हाम्रो मोबाइल, कम्प्युटर र अन्तर्राष्ट्रिय समय गणनाको आधार हो।

केही विज्ञहरूले यदि पृथ्वीको घुमाइ यस्तै तरिकाले अनियमित बन्न गयो भने वाईटूके समस्याजस्तै सङ्कट आउन सक्ने चेतावनी दिएका छन् ।