रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ ।“पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गर्नुभयो”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । युराल्सस्थित पर्म सहरमा पुटिनले बिहीबार बिताउनुभएको थियो ।सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराउनुभएको थियो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो । युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गर्नुभएको हो । बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको ‘पीडा’ लाई बढाउने मात्र बताउनुभयो ।