तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका-५ फेदी खोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिल ट्रस पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ ।

आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । पुल नहुँदा खोला वार पार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उनको भनाइ छ ।

भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि आयोजनाले पक्की पुल निर्माण गर्न लागेको छ । एसियाली विकास बैंकको सहयोगमा वान्टाङ खोलामा पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए । 

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद-ऋषिङ खण्डअन्तर्गत वान्टाङ खोलामा पुल नहुँदा वर्षायाममा हजारौं सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् ।

आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका ४ वटा झोलुङ्गे पुल पुनःस्थापना गर्न लठ्ठा खरिदका लागि बोलपत्र आह्वान गरी सम्झौता हुन लागेको भण्डारीले बताए ।