सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मस्र्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ ।
फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ । सो स्थानमा विसंं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकिल्पक रुपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो । ४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रुपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं.२०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए ।
