गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । “पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्र गरी दोस्रो चरणको काम अघि बढाइएको छ”, इञ्जिनियर मिश्रले भन्नुभयो, “बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजनाअनुरुप काम भइरहेको छ ।” उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिरदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो । रु ३५ करोड १४ लाखको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाखमा सडक कालोपत्रको ठेक्का पाएको थियो । कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताउनुभयो । उहाँका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ ।