ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ ।“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने नाराका साथ आफ्ना गतिविधिहरू, विकास निर्माणका काम र सामाजिक काम गर्दै आएको सुन्दर ललितपुर नगरी, घरघरमा नगरप्रहरी परिचालन अभियान आजबाट सुरु भएको हो ।ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको दाबी गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले यस अभियानले बहुआयामिक महत्व कायम गर्ने धारणा राख्नुभयो ।

“निर्वाचन जितेर जनप्रतिनिधि जनताको घरदैलोमा पुग्न नसकेको अवस्थामा घरघरमा पुगेर त्यसको रिक्ततालाई मेट्दै उनीहरुको सेवा, सुविधा र सहयोगमा थप मद्दत पु¥याउने छन् भन्ने हाम्रो विश्वास छ, वडा अध्यक्षलाई पनि काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगरप्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगर प्रमुखलाई गराउने व्यवस्थापन भएको उहाँले जानकारी गराउनुभयो । यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउनुहुँदै नगरप्रमुख महर्जनले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताउनुभयो ।

उहाँले नगरप्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षरोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी गराउनुभयो । वृक्षरोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको बताउँदै विगतमा बोटबिरुवा मास्ने एक जनालाई रु एक लाख र अर्कालाई रु १५ हजार जरिवाना गरिएको जानकारी गराउनुभयो ।

एक जनाको फाइदाका लागि धेरैको ज्यान जोखिममा राख्न सकिन्न भन्दै प्रमुख महर्जनले वातावरण प्रहरी परिचालन गरेर सवारीसाधनको धुँवा परीक्षण गर्ने र मापदण्डअनुसार नभए तत्कालै कारबाहीका लागि पठाइने व्यवस्था मिलाइने बताउनुभयो । नगरप्रहरी परिचालनले नगरबासीको दिनचर्या र धार्मिक तथा सामाजिक काममा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले संस्कृति र सम्पदा संरक्षणमा ललितपुरको नगरप्रहरीले गरेका काम उत्कृष्ट रहेको भन्दै ललितपुर प्रहरीले नगरप्रहरीसँग मिलेर धेरै राम्रो काम सम्पादन गर्न सकेको बताउनुभयो ।

उहाँले घरघरमा नगरप्रहरीसँगै समुदायमा प्रहरी कार्यक्रमलाई पनि संयुक्तरूपमा जोडेर काम गर्न सकियो भने अपराध नियन्त्रण र विपद् व्यवस्थापन काम गर्न सकिने बताउनुभयो । उहाँले ललितपुरलाई संसारकै सुरक्षित र भयमुक्त समाज निर्माण गर्न सम्भव छ भन्नुहुँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि सूचना आवश्यक भएको बताउनुभयो ।ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले यस अभियानले महानगरबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुने भन्दै नागरिकको अपेक्षा सम्बोधन गर्न सम्भव हुने बताउनुभयो ।

महानगरका नीति, नियम, कर व्यवस्थापनका कानुन, विकासका विषयमा जानकारी दिन महानगरमा रहेका एक लाखभन्दा बढी घरमा नगरप्रहरी परिचालन हुने नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो । अहिले ललितपुर महानगरले एम्बुलेन्स, शवबहान, ढल निकासको सरसफाइका लागि जेटिङ मेसिनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।