तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन् । विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन् ।उक्त समाज कल्याण केन्द्र दानवीरकै सहयोगमा निर्भर हुँदै आएको छ । नेपाल सरकारद्वारा विसं २०५२ मा स्थापित देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित उक्त केन्द्रमा सरकारले पर्याप्त बजेटको प्रबन्ध नगर्दा दाताहरुकै सहयोगमा निर्भर हुनुपरेको हो । सन्तान नभएका आश्रयहीन बुबाआमा आश्रममा रहेको आश्रमका व्यवस्थापक देवु अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजेटको समस्याका कारण आश्रम दाताको सहयोगले चलिरहेको छ, विभिन्न अवसरमा दाताहरुले सहयोग गर्दै आउनुभएको छ ।”

आश्रममा एउटै कोठामा आठदेखि नौजना राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी महिनामा कुनै बुबाआमालाई पङ्खा नभई नहुने, कसैलाई पङ्खा चाहिँदै नचाहिने जस्ता समस्याले वृद्धवृद्धालाई एउटै कोठामा राख्दा समस्या परेको छ ।” वृद्धाश्रममा पर्याप्त कोठाको अभाव हुँदा स्वस्थ्य र बिरामीलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ । महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै शौचालय नहुँदा वृद्धवृद्धाको नित्यकर्ममा समेत समस्या आउने गरेको अधिकारीको भनाइ छ ।

वृद्धाश्रममा पर्याप्त आवास, शौचालय, मनोरञ्जनस्थल, स्नान कक्ष, सुविधाजनक भान्सा, विश्रामकक्षको उचित प्रबन्ध गर्न राज्यले ध्यान दिनुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताउनुभयो । बरालका अनुसार वृद्धाश्रम दाताहरुसँग सहयोग मागेर सञ्चालन गर्नुपर्ने बाध्यता छ । दाताहरुले जन्मोत्सव, वैवाहिक वर्षगाँठ, पितृ स्मृति दिवसजस्ता सन्दर्भमा आश्रममा नगद, अन्नदान, वस्त्रदान, निःशुल्क भोजन र दानपेटिकामा राखेको नगदबाटै आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बरालको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धाश्रमलाई कम प्राथमिकता दिएको छ, वृद्धवृद्धाको उचित संरक्षण गर्नका लागि राज्यका निकायले चासो नदिँदा समस्या परिरहेको छ ।”

वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको खानपिन तथा अन्य कार्यका लागि बजेट उपलब्ध नभए पनि आश्रममा कार्यरत व्यवस्थापक, भान्से र सहयोगीसहितका कर्मचारीका लागि मासिक पारिश्रमिक भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजन भइरहेको छ । आश्रममा एक व्यवस्थापक, दुई भान्से, दुई सुसारे र एक चौकीदार गरी छजना कर्मचारी रहेका छन् । वृद्धाश्रमको भवन व्यवस्थित छैन । झ्याल–ढोकामा जालीसमेत राख्न नसकिएका कारणले वृद्धवृद्धाहरुलाई बाँदरले समेत हैरानी पार्ने गरेको छ । झ्याल बन्द गर्दा कोठा गुम्सिने, गन्ध आउने, झ्याल खुल्ला राख्दा बाँदर आश्रमको कोठा र भान्साभित्र पसी खाद्य सामग्री नष्ट गर्ने, लुगा च्यात्ने तथा नोक्सानी पु¥याउने गरेको छ ।

तीन जिल्लाको सङ्गमस्थल देवघाटधाम चितवनले तनहुँको भन्ने, तनहुँले नवलपरासीको र नवलपरासीले चितवनको आश्रम हो भनी एक जिल्लाले अर्को जिल्ला तथा एक पालिकाले अर्को पालिकालाई देखाउने प्रवृत्तिले गर्दा आश्रमको व्यवस्थापनमा कठिनाइ भएको बरालको भनाइ छ । वृद्धाश्रमलाई ज्येष्ठ नागरिक ग्रामका रुपमा सञ्चालन तथा निर्माण गर्ने सरकारको निर्णय भए पनि बजेटको प्रबन्ध नहुँदा काम अलपत्र परेको छ । बरालले भन्नुभयो, “देवघाटधाममा जीवनको उत्तरार्धमा जीवन व्यतित गर्न चाहने धेरै ठाउँबाट वृद्धवृद्धा आउनुभएको छ, आश्रमलाई व्यवस्थित गर्न राष्ट्रिय स्तरको मापदण्ड बनाई सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ ।”