मुग्लिन पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा घर टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।संरचना हटाउने प्रयोजनका लागि रीतपूर्वक पेस भएका निवेदकलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर घर भत्काउन ढिलाइ गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “सरोकारवालासँग पटक-पटक समन्वय, सहकार्य, सहजीकरण र परामर्श गरिए पनि कतिपयले क्षतिपूर्ति रकम बुझ्ने तर संरचना नभत्काउने गरेकाले सडक स्तरोन्नतिमा अवरोध भएको छ ।”

सडक विस्तारको अवरोधले नगर क्षेत्रमा धुँलो, धुँवा र अस्तव्यस्तता भएको उहाँले बताउनुभयो । दुलेगाँैडा, खैरेनीटार र गाछेपानी लगायतका स्थानमा राजमार्गको सडक क्षेत्राधिकारभित्र पर्ने २५ मिटर दायाँबायाँभित्रका संरचना स्वतःस्फूर्त रुपमा हटाइ समन्वय र सहजीकरण गर्न पण्डितले आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “संरचना हटाउन जति ढिलाइ भयो आयोजनाको कामले त्यति गति लिनसक्दैन । संरचना नहटाइ बाधा व्यवधान उत्पन्न गरेमा प्रचलित कानुन बमोजिम सडकको मापदण्डभित्रका संरचना हटाइने छ ।” सडक स्तरोन्नतिका क्रममा स्थानीयवासीलाई पर्ने पिरमर्काको विषयमा आवश्यक पैरवीका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको पण्डितले बताउनुभयो ।पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ ।

पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण अगाडि बढाइएको छ । पश्चिम खण्डको काम केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । उक्त खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले लिएको थियो ।