व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो ।उक्त मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । “कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो, “कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा सहज पहुँच पुग्नेछ ।”
ठेक्का मूल्याङ्कनका लागि सूचना प्रकाशित गरी निर्माण कार्यलाई अघि बढाउन लागिएको तिवारीले बताउनुभयो । “नालासहितको सडक कालोपत्र भएपछि यस क्षेत्रको विकासमा परिवर्तन आउने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार व्यासका गौरवको आयोजनामध्ये सुरु गर्न लागिएको यो पहिलो आयोजना हो ।आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले रु ५२ करोड ७८ लाख ३० हजार चार सय २७ मा अनुमानित रकमसहित ठेक्का पाएको तिवारीले जानकारी दिनुभयो । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान प्रक्रिया अघि बढाएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “गुणस्तरीय सडक निर्माणपछि यहाँ व्यवस्थित सहरीकरण हुँदै जानेछ”, उहाँले भन्नुभयो । “सामान्यतया सवा करोडले एक किमी सडक कालोपत्र गर्ने प्रावधान छ । विश्व बैंकको मापदण्डअनुसार एक किमीका लागि रु चार करोड खर्च गरी गुणस्तरीय सडक निर्माण गर्ने योजना छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।
