सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रबद्र्धनमा ध्यान दिन सांसदहरुले आग्रह गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न जात्रा र पर्व सुरु हुन लागेकाले ती क्षेत्रको सडक मर्मत र सरसफाइलाई ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद महर्जनका अनुसार यही भदौँ १४, १५ र १६ गते जनैपूर्णिमा, गाईजात्रा र मर्तिया जात्रा सुरु हुँदैछ । प्रत्येक मठमन्दिर, सफा गर्न र भक्तदनलाई दिनभर घुम्ने वातावरणका लागि हिलाम्मे सडकको चाँडो मर्मत गर्न माग गर्नुभयो ।
उहाँले जीवन्त संस्कृतिक सम्पदालाई सधैँ जगेर्ना गर्न उचित कोषको व्यवस्था गरिनुपर्ने भन्दै यस्ता सांस्कृतिक धरोहरलाई बचाउन सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विशवास व्यक्त गर्नुभयो ।सांसद दामोदर पौडेल बैरागीले पर्यटकीय सिजन सुरु हुन लागेकाले देशका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्ने सडक जीर्ण बनेको भन्दै पर्यटकीय गन्तव्य जोड्ने सडकको चाँडो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामप्रकाश चौधरीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन, कृषि, ऊर्जा, पर्यटनलगायतलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद शान्ति विकले संसद्लाई जग हसाइको थलो नबनाई देश र जनताप्रति इमान्दार र प्रतिनिधिमूलक थलोका रुपमा स्थापित गर्न माग गर्नुभयो ।
उहाँले जातीय धार्मिक र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै सबै सरोकारवाला सचेत रहन अनुरोध गर्नुभयो । सांसद प्रभु हजराले राष्ट्रिय गौरवका आयोजनाको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सबैखाले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि छानबिन समिति गठन गरिनुपर्ने माग गर्नुभयो । सांसद सरस्वती बजिमयले केही दिनदेखिको लगातारको वर्षाले पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक प्रकोपजन्य घटनामा ठूलो धनजनको क्षति पुगेको र सडक, घर र बस्तीमा क्षति पुगेको भन्दै सङ्घीय सरकारले बजेट व्यवस्थापन गरेर जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन माग गर्नुभयो ।
