भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । यहाँको मुख्य सडकअन्तर्गत नाली व्यवस्थापन, हिलो र खाल्डा भएका स्थानमा मिक्स गिटी लाउने, झाडी हटाउनेलगायत काम गरिएको उहाँले बताउनुभयो ।“गाउँपालिकामा श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत, सम्भार गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “प्रायः सबै सडक वर्षातले बिग्रिएको अवस्थामा छन् । पालिकाले थालेको यस अभियानमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”
बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि अभियानमार्फत स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेका उहाँको भनाइ थियो । अध्यक्ष राईका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य सङ्घ, हतुवागढी यातायात प्रालि, प्रगति समृद्धि र हाटखोला टोल विकास संस्था, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्थालगायत सर्वसाधारण सहभागी छन् । श्रमदानमा जोडिने सबैलाई गाउँपालिकाले धन्यवाद दिँदै आगामी दिनमा पनि सञ्चालन गरिने अन्य विकासका अभियानमा जुट्न सबैलाई अनुरोध गरेको छ । यसअघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाइमा श्रमदानमार्फत घोडेटार, सङ्खाम, दिमालुङ पदमार्ग क्षेत्रमा वृक्षरोपन गर्नुका साथै दिमालुङ क्षेत्रको सरसफाइसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
