तनहुँको व्यास नगरपालिका वडा नं ७ मा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सञ्चालन हुने भएको छ। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग तथा केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लको नेतृत्वमा, व्यास नगरपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गर्न लागिएको हो।

शिविरमा मुटु रोग विशेषज्ञद्वारा परीक्षण, निःशुल्क ईसीजी सेवा, मुटुको भिडियो एक्सरे (इको), सुगर जाँच तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिनेछ। साथै स्वास्थ्यकर्मीलाई बेसिक लाइफ सपोर्ट तालिम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

शिविरमा आएका बिरामीमध्ये आवश्यकताअनुसार चिकित्सकको सिफारिसमा मात्र ईसीजी र इको सेवा उपलब्ध गराइनेछ। मुटु रोगीहरूको पहिचान गरी आवश्यक परेमा सहिद गंगालाल हृदय केन्द्र, काठमाडौँमा निःशुल्क तथा सहुलियतमा उपचारको व्यवस्था मिलाइने पनि जनाइएको छ।

उक्त शिविर २०८२ साल चैत्र १५ गते श्री क्यामिन माध्यमिक विद्यालय, कलेस्तीमा सञ्चालन हुनेछ। नाम दर्ता समय बिहान ८ बजेदेखि १२ बजेसम्म तोकिएको छ। आयोजकले शिविरमा सहभागी हुँदा पुराना स्वास्थ्य रिपोर्टहरू साथमा ल्याउन अनुरोध गरेको छ।

शिविरको आयोजना व्यास नगरपालिका वडा नं ७ ले गरेको हो भने नेपाल रेडक्रस सोसाइटी माहेन्द्री उपशाखा, सुन गंगा सहकारी संस्था लि तथा कलेस्ती एग्रो फार्म लगायतका संस्थाहरूले सहयोग गरेको छ।

थप जानकारीका लागि विनोद न्यौपाने–९८१४१३१४५८
शिवलाल प्रधान –९८०५८४६६००
राम बहादुर मझकोटी– ९८४६०८९८९१
रमाकान्त ढुङगाना –९८५६०३१२०८
रुपा घिमिरे– ९८४६४३५०५० सम्पर्क गर्न सकिने जनाइएको छ।