तनहुँ, चैत्र ९ — विश्व क्षयरोग दिवस पुर्वसध्याकाे अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम कार्यालयको सभाहलमा गरीएको थियो । मिडियाको भूमिका प्रभावकारी हुने भएकाले जनचेतना फैलाउन मिडियामार्फत सही सूचना छिटो समुदायसम्म पुर्याउन सकिने भएकाले पत्रकारहरूसँग पहिलो चरणमा अन्तरक्रिया गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कंडेलले जानकारी दिनुभयो ।
“हो, हामी क्षयरोग अन्त्य गर्छौं—राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित आयोजित कार्यक्रममा कार्यालयका प्रमुख अमर दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। दवाडीले भोली चैत्र १० गते तनहुँको बिभिन्न पालिकामा नि शुल्क रुपमा क्षयरोग प्ररिक्षणा हुने बताउनु भएको छ ।दवाडीले देबघाट गापा वडा नं ३ दगरामा र म्याग्दे गा पा धयरेमा हुन लागेको निशुल्क परिक्षणामा आफ्नो सहभागी जनाई अवसरको सदुपयोग गर्नुहुन अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा क्षयरोगको कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिँदै यो Mycobacterium Tuberculosis नामक जीवाणुबाट हुने सरुवा रोग भएको बताइएको थियो। दुई साताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरिएको थियो।
फोक्सोसम्बन्धी र अन्य अंगमा हुने क्षयरोगबारे जानकारी दिँदै नियमित औषधि सेवन, सरसफाइ र समयमै उपचारले रोग नियन्त्रण गर्न सकिनेमा जोड दिइएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो।








