दमौली ।तनहुँको व्यास नगरपालिकाले डेंगु सम्बन्धी टोलटोलमा सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले टोलटोलमा गएर डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले डेंगु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । सो क्रममा वडा वडामा स्वास्थ्यकर्मीहरूका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गदै आएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् । नगरपालिका मेडिकल अधिकृत डा.नविना न्यौपाने लगायतले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि,टोल विकास समितिका प्रतिनिधिलाई जानकारी गराएकी थिईन् ।
उनले भदौ महिनाको अन्तिम साता देखि यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताईन् । उनले भनिन्,“अहिले प्रत्येक वडा वडामा गईन सचेतना कार्यक्रम गदै आएका छौं ।” उनले टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिईन् । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने उनको भनाइ थियो । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणमा जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिदै आएको छ । उनले भने, “बोर्ड बैठकबाटै हामीले डेंगु परिक्षणको लागि आवश्यक किट खरिद गर्ने निर्णय गरेका छौं। ल्याब भएका स्वास्थ्य चौकी बाटै डेंगु परिक्षण गर्न थालिएको छ । ” डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि नगरपालिकाले नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू नष्ट गर्ने तथा प्रत्येक वडाहरूमा लामखुट्टे मार्ने औषधि छर्कँदै आएको छ । त्यसैगरी नगरपालिकाले पर्चा पम्पलेट माइकिङ गर्दै सरसफाईमा ध्यान दिन र राती सुत्दा झुलको प्रयोग गर्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
