प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छन् । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभक्त गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । गण्डकी प्रदेशका एक हजार दुई सय ९७ मतदानस्थलमध्ये तीन सय २८ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुहुन्छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ ।

भौगोलिक रूपमा विकट रहेको गोरखाका दुई निर्वाचन क्षेत्रका ८३ मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ । जिल्लाका दुई सय २५ मतदानस्थलमध्ये एक सय ३१ संवेदनशील र ११ सामान्यमा राखिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक कार्की मुस्ताङमा ३९ मदतानस्थल रहेकोमा कुनै पनि अतिसंवेदनशीलमा नपरेको बताउनुहुन्छ ।

“मनाङमा भने २८ मतदानस्थलमध्ये पाँच अति संवेदनशील, १५ संवेदनशील र २३ सामान्य छन्,” उहाँ भन्नुहुन्छ, “लमजुङमा ३० अतिसंवेदनशील, ७७ संवेदनशील र २३ सामान्य छन् भने तनहुँमा आठ अतिसंवेदनशीलमा परेका छन् ।  स्याङ्जामा ११, नवलपुरमा ११, म्याग्दीका १५, बागलुङका २९ र पर्वतका ३५ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।’’

प्रदेशको राजधानीसमेत पर्ने कास्की जिल्लाका एक सय ५३ मतदान स्थलमध्ये ५६ वटा अतिसंवेदनशील छन् । तीन निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नम्बर ३ सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । यस क्षेत्रमा ३० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । भौगोलिक विकटता र तत्काल सुरक्षाकर्मी पुग्न कठिन हुने अवस्थाका कारण क्षेत्र नम्बर ३ लाई उच्च जोखिममा राखिएको हो ।

क्षेत्र नम्बर १ मा १९ अतिसंवेदनशील, २८ संवेदनशील र १४ सामान्य मतदान स्थल छन् । कास्की क्षेत्र नम्बर २ भने तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिएको छ । त्यहाँ सात अतिसंवेदनशील, आठ संवेदनशील र १८ सामान्य मतदानस्थल छन् । समग्रमा कास्कीमा ५६ अतिसंवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य मतदानस्थल पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

चुनावमा जोखिम मूल्याङ्कका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ । जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, झगडालाई मुख्य चुनौती मान्ने गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा फागुन २१ गते निर्वाचन हुँदै छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने आयोग कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापनसहितका काममा जुटेको बताउनुहुन्छ ।