तनहुँको भिमाद नगरपालिकाले ‘किसानसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपालन क्षेत्र आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिका सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

स्थानीयको जीवनयापन र आयआर्जनको मुख्य आधार कृषि रहेकाले यसको उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याएको नगर प्रमुख दधिराज सुवेदीले जनाकारी दिनुभयो ।उहाँका अनुसार आगामी दिनमा कृषकको जीविकोपार्जनमा सुधार ल्याउन र नगरलाई आत्मनिर्भर बनाउन उद्देश्य रहेको छ ।

आगामी माघ पहिलो सातादेखि नगरका सबै वडामा यो अभियान सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जनाकारी दिनुभयो । चालु आर्थिक वर्षमा कृषि औजार र बीउबिजनमा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । कार्यक्रम मार्फत कृषि र पशु विकास शाखाबाट प्रवाह हुने सेवाबारे जानकारी गराउनुका साथै स्थलगत रूपमै प्राविधिक परामर्श समेत दिइने नगरपालिकाले जनाएको छ ।