काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।
शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७:२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र तारा एयरका लुक्ला गन्तव्यका सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने आंशिक ढिलाइसँगै भइरहेको देखिएको छ।
बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर गन्तव्यका उडानमध्ये कतिपय ‘बोर्डिङ’ मा छन् भने केही ढिलो प्रस्थान भएका छन्। श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्जतर्फका उडान पनि मौसमका कारण करिब दुई घण्टासम्म ढिलाइ भएको छ।
