भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका माग राखेर सडकमा उत्रिएका युवा पुस्ताको आन्दोलनका क्रममा दिवङ्ग हुनुभएका युवाहरुप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । 
आन्दोलनमा सहभागी धेरै व्यक्ति, पत्रकार र सुरक्षाकर्मी घाइते हुनुभएकामा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । २०८२ साल भदौ २३ गतेको आन्दोलनमाथि सरकारले गरेको दमन र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिले हामीलाई स्तब्ध तुल्याएको छ । युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा जिल्लास्थित सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति शाखा निन्दा र भत्र्सना गर्दछ सो विज्ञप्तीमा भनिएको छ । महासङ्घले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकार समक्ष माग राखेको थियो ।
 शाखामा प्राप्त जानकारी अनुसार प्रेससँग जोडिएका घट्नामा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गालीगलौज र हातपातको प्रयास भएको थियो । त्यसैगरी रेडियो ढोरबराहीको ग १३ प ५०७४ को स्कुटर, पत्रकार अशोक विकको ग १५ प ७४९७ को मोटरसाइकल, पत्रकार सुमन श्रेष्ठको ग १५ प ४५४ तोडफोड भएको छ । रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरिएको तर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
जनतालाई सूसुचित गर्न, शान्ति र लोकतन्त्रका लागि क्रियाशील हुने पत्रकार र सञ्चारमाध्यमलाई निशाना बनाइएकोप्रति शाखा आपत्ति प्रकट गरेको छ । जेनजीको आन्दोलनका क्रममा घुसपैठ गरी सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारवाहीका लागि प्रशासनसमक्ष माग गरेको छ । साथै राज्य र आन्दोलनमा संलग्न जो कसैलाई प्रेसमाथि निशाना नबनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन समेत अपिल गरेको छ ।