रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाउनुभएको छ ।

यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् ।

पुटिनले भन्नुभयो, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।”

उहाँले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताउनुभयो ।

त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो, जसले गृहयुद्ध भड्कायो ।

रूसी राष्ट्रपतिले भन्नुभयो, “सङ्कटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।”

पुटिनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा बोलिरहनुभएको थियो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायतका सहयोगी नेताहरू सहभागी हुनुहुन्थ्यो ।

मस्को र बेइजिङले एससिओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् ।

पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताउनुभयो ।

उहाँले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्ने बताउनुभयो ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न मस्को र किएभ दुवैलाई सम्झौतामा आउन आग्रह गर्नुभएको छ ।

तर शान्ति प्रस्ताव हालसम्म रोकिएको छ । पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनलाई थप भूभाग त्याग्न र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राख्नुभएको छ ।

किएभले भने आफूहरूले युद्ध सुरु नगरेको दाबी गर्दै ती मागलाई अस्वीकार गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे शृङ्खलाबद्ध द्विपक्षीय बैठकमा छलफल गर्ने बताउनुभएको छ ।

उहाँले सोमबारपछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारी गर्नुभएको छ ।