तनहुँको दुई सडकले विश्व बैंकबाट अनुदान सयहोग पाएका छन् । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले पाएका हुन् । विश्व बैंकको सहयोगमा नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट प्राप्त भएको हो चालु आर्थिक वर्ष २०८२र८३ मा पुस महिना भित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भईरहेका छन् । अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भई काम भईरहेको छ ।

उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुने गर्ने सम्झौतमा उल्लेख छ । सदरमुकाम दमौलीमा घनाबस्ती भईसकेकाले नयाँ सहरको रुपमा विकास गर्न र किसानलाई स्थानीय उत्पादनको बजारीकरणका लागि सहज बनाउन स्तरोन्नतिको काम अघि बढेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण यसअघि खुलेका ती ट्र्याकमा स्तरोन्नतिको काम भईरहेको न्यौपानेले बताउनुभयो ।

सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । निर्धारित पुस महिना सम्ममा काम पुरा गर्न गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । निर्देशन दिएपछि हाल धमाधम भईरहेको नगरपालिकाले जनाएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ ।
उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा काम पुरा नभए पछि छ महिना म्याद थप भएको भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा। राजु पौडेलले जानकारी दिनुभयो । हाल सम्म १८।२९ प्रतिशत काम भएको पौडेलले बताउनुभयो । थपिएको समयमा पुरा गर्ने गरी काम गर्न निर्देशन दिईएको पौडेलले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो ।
दु्‌लेगौंडा–लामागाउँ सडक खण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको ६१ दिनमा काम पुरा गर्ने प्रतिबद्धता ठेकेदारले गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । म्याद थपिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो । यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले वि।सं। २०८० चैत २५ गते सम्झौता गरेको थियो । मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो ।

लामादेका अनुसार उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएकोमा अब समाधान हुने इञ्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयले कार्यक्रम सञ्चालन भएका पालिका र सहयोगी निकायबीच मङ्गलबार र बुधबार गरी दुई दिन काठमाडौंमा भेला गरी हालसम्मको प्रगती र भावी योजनाको बारेमा जानकारी गराएको छ ।

कार्यक्रमको मङ्गलबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा तनहुँका दुवै पालिकाले ठेकेदारले काममा ढिलाई गर्दा समस्या परेको अवगत गराउनु भएको थियो । बारम्बार अनुगमन गरेर छिटो काम पुरा गर्न भने पछि हाल कामदार थपेको पालिकाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।