काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ १२ कक्षाको नतिजा
बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।