साउनको तेस्रो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा बोलबम आउने भक्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सूचना जारी गर्दै बोलबम मेलामा स्नान गर्न आउने भक्तजनलाई सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुन सक्रिय भई विभिन्न स्थानमा मध्यमदेखि भारी बर्षा भइरहेको र त्रिशुली, कालिगण्डकी र बेणिसंगमस्थल देखि नारायणी नदीको बहाब उच्च देखिन आएकाले भक्तजन र स्थानीयलाई उच्च सतर्कता अपनाउँदै भौतिक र मानविय क्षति हुनबाट जोगिन अनुरोध गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँले मौसम विज्ञान विभाग, बाढी पुर्वानुमान महाशाखाबाट जारी सन्देश अनुसरण गरी सजग र सर्तक रहन सबैमा अपिल गरिएको बताउनुभयो । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवकसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको छ । साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा बिबाहिता महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन्, भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दछन् । यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् ।