तनहुँको व्यास नगरपालिका–१०, दुम्सीचौरमा निर्माणाधीन नारेश्वर ताल र ड्यामको काम अन्तिम चरणमा पुगेको छ। सिँचाइ डिभिजन कार्यालय तनहुँ मार्फत विगत लामो समयदेखि रोकिएको ड्याम निर्माण कार्य यस वर्ष पूर्णता पाएसँगै अब तालमा माटो फाली पानी भर्ने कार्य सुरु गरिने भएको हो। नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यस बहुउद्देश्यीय परियोजना करिब २४–२८ रोपनी क्षेत्रमा फैलिएको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउनुभयो । उहाँका अनुसार तालमा अब जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माणको काम अगाडि बढाइनेछ। तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ, जसबाट आसपासका कृषकलाई आवश्यक सिँचाइको पानी वितरण गरिनेछ। यसबाट स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न मद्दत हुने विश्वास लिएको उहाँले जनाकारी दिनुभयो ।
व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जनाकारी दिनुभयो । व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेको उहाँले बताउनुभयो ।