राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध २७ लाख ५० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । अभियान सुरु भएको एक महिनाभित्रै रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।

रविको पक्षमा सबैभन्दा बढी बागमती प्रदेशमा हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका छन् ।

प्रदेशगतरुपमा कोशी प्रदेशमा २ लाख १३ हजार १ सय ६ जनाले हस्ताक्षर गरेका छन् भने मधेसबाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । यस्तै वागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ जना, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ जना, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जना र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ जनाले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । 

यस्तै ७ लाख ५ सय ५२ जनाको हस्ताक्षर भने ह्वाट्सएपबाट प्राप्त भएको छ । यस्तै इमेलबाट ८३ हजार ५ सय ६६ जनाले हस्ताक्षर पठाएका छन् । नेपालमै भएका धेरैको प्रत्यक्ष हस्ताक्षर संकलन भएपनि विदेशमा रहेको धेरै नेपालीको हस्ताक्षर अनलाइन मार्फत प्राप्त भएको रास्वपाले जनाएको छ । 

रास्वपाले मिनी जनमत संग्रहकै रुपमा हस्ताक्षर अभियान अघि बढाइरहेको छ । साउन ५ गतेदेखि रास्वपाको वडा कमिटिहरुले घरदैलोमै पुगेर जनतालाई हस्ताक्षर अभियान र लामिछानेको अपिल बुझाउन सुरु गरेका छन् । हस्ताक्षर अभियानलाई थप व्यवस्थीत बनाउन चलाइएको आर्थिक संकलन अभियानबाट अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको रास्वपाले जनाएको छ ।