तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार नगरपालिका उपप्रमुख खम बहादुर विश्वकर्मा ‘राजु’ले नीति तथा कार्यक्रम प्रस्तुत गरे।
बजेटतर्फ सबैभन्दा बढी ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरिएको छ। वडा कार्यालयहरूका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ छुट्याइएको छ। चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ विनियोजन गरिएको छ
बजेट आम्दानीको स्रोततर्फ संघीय सरकारबाट समानीकरण अनुदान १४ करोड ४८ लाख, शर्तसहितको अनुदान ६३ करोड ५० लाख, र राजस्व बाँडफाँडबाट ११ करोड ९२ लाख ६७ हजार २९ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक र विशेष अनुदान गरी ४ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। नगरकै आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा विशेषगरी भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बासोबासीलाई लालपुर्जा वितरण, सेती नदीमा चेक ड्याम, नगर रंगशाला, बसपार्क, सूचना केन्द्र लगायत नगर गौरवका आयोजना सार्वजनिक९निजी साझेदारीमा अघि बढाइने उल्लेख छ। ‘दिगो शुक्लागण्डकी कार्यक्रम’ सञ्चालन गर्दै सामाजिक, आर्थिक विकास तथा पर्यावरण संरक्षणमा सन्तुलन कायम गरिने बताइएको छ।
दलित, विपन्न तथा सहिद परिवारका लागि सुरक्षित आवास निर्माण, बजार क्षेत्रमा तार व्यवस्थापन तथा सरसफाइ शुल्क लागू गर्ने, सामुदायिक विद्यालयमा रैथाने खाजा कार्यक्रम, एक वडा एक नमुना विद्यालय लगायतका कार्यक्रम समावेश छन्। कृषि क्षेत्रमा तरकारीमा प्रतिकेजी २–५ रूपैयाँ र दूधमा प्रतिलिटर थप २ रूपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ। कृषि एम्बुलेन्समार्फत उपज संकलन तथा विक्रीको प्रबन्ध मिलाइने र जैविक खेती, बाझो जमिनमा कफी खेती प्रोत्साहनलाई निरन्तरता दिइने भएको छ।
‘अर्गानिक पर्यटन, गाउँ घरबास’ कार्यक्रममार्फत भुजिकोट, दगाम, मिलेनियम पदमार्ग, चरीमार्ग जस्ता स्थानमा पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रम १२७ बुँदामा विस्तारित छ, जसमा अधिकांश चालु आर्थिक वर्षका योजनालाई निरन्तरता दिइएको छ।
यसअघि चुनौतीपूर्ण बनेको फोहोर संकलन तथा सरसफाइ व्यवस्थापनलाई यो वर्ष व्यवस्थित बनाउने योजना पनि नगरको नीति तथा कार्यक्रममा समेटिएको छ। सुर्य नेपाल प्रालिको सहकार्य र ग्रीन नेपाल संस्थाको व्यवस्थापनमा नगरभित्रको फोहोर संकलन, वर्गीकरण तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै स्वच्छ र स्वस्थ शुक्लागण्डकी निर्माण लगायतका लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।