तनहुँको देवघाट गाउँपालिका–५ बद्रीमुक्ति टोल निवासी ३२ बर्षीय प्रकाश पौडेल हत्याको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–।३ हटिया घर भई तनहुँको देवघाट गाउँपालिका– ५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ का राम लामा र सोही ठाउँमा मजदुरी गर्ने पाल्पा जिल्लाको तानसेन नगरपालिका– ८ नयाँपाटी घर भएका वर्ष २८ को बुद्ध सारू मगरलाई पक्राउ गरिएको हो ।
उनीहरुले मदिरा सेवन गरी कुटपीटबाट पौडेलको हत्या गरेको आरोपमा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । घट्ना पश्चात लामा र सारु मगर फरार रहेकोमा प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो । घर देखि तीनसय मिटरको दुरीमा रहेको कच्ची सडकमा बिहान पाँच बजेको समयमा पौडेल लडिरहेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीमा खबरका थिए ।
अचेत अवस्थामा भेटिएका उनलाई तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । उक्त घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।