व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिबिहीन अपाङ्गता भएका बालवालिकालाई आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ ।
जिल्लाका विभिन्न वडामा रहेका दृष्टिबिहीन अपाङ्गता भएका विद्यालय उमेर समुहका बालबालिकालाई ब्रेललिपी मार्फत आवासीयसहितको निःशुल्क शिक्षण मिलाएको हो ।
दृष्टिबिहीन अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी स्रोत कक्षा सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
फरक क्षमता भएका बालबालिकालाई ब्रेललिपी मार्फत पठनपाठनको प्रवन्ध मिलाइएको छ,उहाँले भन्नुभयो “स्रोत कक्षामा बालबालिकाको हेरचाहका लागि एक जना सहयोगीको व्यवस्था मिलाइएको छ ।”
स्रोत कक्षामा अध्यनरत बालबालिकालाई सहयोगीले आमा सरहको भूमिका खेल्ने छन्,उहाँले भन्नुभयो “स्रोत कक्षामा भर्ना हुने सम्पुर्ण दृष्टिबिहीन विद्यार्थीहरुलाइ आफ्नै सन्तान सरह पालनपोषण गर्नुपर्ने हुन्छ ।”
दृष्टिबिहीन अपाङ्गता भएका बालवालिकालाई स्रोत कक्षामा भर्ना गर्न सम्बन्धित अभिभावकलाई परामर्श प्रदान गरि गुणस्तरयुक्त शिक्षा प्रदान गर्न लागेको लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बताउनुभयो ।
विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि आवासीय कक्षा कोठा, भान्सा र शौचालय लगायतका व्यवस्था मिलाइएको छ ।
बालबालिकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसीट, सिरक,गद्धा,टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ ।
स्रोत कक्षा सञ्चालनका लागि व्यास नगरपालिकाले विद्यालयलाई प्रति विद्यार्थी रु.५० हजारका दरले दश महिनाका लागि अनुदान रकम उपलव्ध गराएको छ ।
अहिलेलाई विद्यालयकै भवनमा स्रोत कक्षा र छात्राबास सञ्चालन गरिएको विद्यालयका शिक्षक तथा प्राथामिक विद्यालय इन्चार्ज यमप्रसाद सापकोटाले बताउनुभयो ।
गण्डकी प्रदेश सरकार मार्फत रु.तीन लाख बराबरको सहयोग विद्यालयलाई प्राप्त भएको छ,अति आवश्यक पर्ने दराज, वासिङ मेसिन, बेड लगायतमा खर्च गरिएको छ ।
दृष्टिविहीन अपाङ्गता भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न आग्रह गरिएको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो ।
प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी घरको वातावरण भन्दा राम्रो स्याहारसुसार गरि राख्न विद्यालयले बातावरण सिर्जना गरेको छ ।
