व्यास नगरपालिका–३ देउरालीनगर स्थित शिवपाञ्चायन अंग्रेजी माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सवको अवसरमा आइतबार रजत जयन्ती मनाउने भएको छ । विद्यालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्ती मनाउन लागेको जानकारी दिएको हो ।


विसं २०५७ सालमा स्थापना गरिएको यस विद्यालयले विभिन्न चरण पार गर्दै अहिले यस स्थानमा आइपुगेको अवसरमा रजत जयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले बताउनुभयो ।उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तरका साथै साँस्कृतिक गतिविधीमा फड्को मार्दै अघि बढेको छ।
रजत जयन्तीको पूर्वसन्ध्यामा २४ गते स्वास्थ्य शिबिरको आयोजना गरिएको विद्यालयका साहायक प्रधानाध्यापक हेमलाल घिमिरेले जनाकारी दिनुभयो । रजत जयन्तीका लागि रु दुई लाख बढी खर्च हुने अनुमान गरेको उहाँले जनाकारी दिनुभयो ।
रजत जयन्ती मूल समारोह समितिका संयोजक बिष्णुभक्त न्यौपानेले विद्यालयले विद्यार्थीको चाहना अनुरुपको शिक्षालाई जोड दिदै आएको बताउनुभयो । यस विद्यालयलाई सुरुवाती चरणदेखि हाल यस स्थानसम्म ल्याउन आफु र यस क्षेत्रका समुदायको अतुलनीय योगदान रहेको सो अवसरमा जानकारी गराउनुभयो ।


प्रचार प्रसार उपसमिति संयोजक नेत्र रानाभाटले रजत जयन्ती भव्य रुपमा सम्पन्न गर्नका लागि मूल समारोह ४४ जनाको समिति गठन गरिएको बताउनुभयो । साथै नौ सदस्ययीय सचिवालय समिति र आर्थिक,स्वागत तथा पुरस्कार,स्मारिका प्रकाशन,मञ्च व्यवस्थापन लगायतका एघार वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो ।
उक्त विद्यालयमा हाल २ सय २२ जना विद्यार्थी अध्यनरत छन् भने २४ जना शिक्षक कार्यरत रहेका छन् ।