सार्वजनिक यातायात बन्द गरिएको भन्दै नेपाल बिद्यार्थी संघ, तनहुँ र नेपाल तरुण दल व्यास नगरपालिकाले आपत्ति जनाउदै ज्ञापनपत्र बुझाएको छ । राइड सेयरिङ र सेल्फ ड्राइभ नियमावलीप्रति यातायात व्यवसायीहरूले असन्तुष्टि जनाउँदै गरेको सार्वजानिक यातायात बन्द र आन्दोलनले सर्वसाधारण यात्रुलाई पारेको असरको विरुद्धमा सोमबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण आधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ र सेल्फ ड्राइभु नियमावलीप्रति असन्तुष्टि जनाउँदै यातायात व्यवसायीहरूले सञ्चालनमा ल्याएको सार्वजनिक यातायात बन्द र आन्दोलनले आम सर्वसाधारण यात्रुहरू र विद्यालयरकलेज जाने विद्यार्थीहरूलाई गम्भीर असर परेको नेपाल तरुण दल व्यास नगरपालिका अध्यक्ष युवराज भण्डारीले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो सार्वजनिक सेवामार्फत आफ्नो दैनिकी चलाउने सर्वसाधारण जनतामाथि प्रत्यक्ष असर पर्ने भएकाले यस्ता बन्द हड्तालप्रति हामी गम्भीर छौं। विद्यार्थीहरू शिक्षाबाट बञ्चित हुनु र बिरामीहरू उपचारका लागि सास्ती खेप्नु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो।

सरकार र आन्दोलनरत व्यवसायी पक्ष तत्काल वार्तामा बसेर सहमतिको बाटो अपनाओस्, जनतालाई मार पर्ने खालका आन्दोलन बन्द गर्नुपर्ने नेपाल बिद्यार्थी संघ, तनहुँका अध्यक्ष अषिस कैनीले जनाकारी दिनुभयो ।
उहाँका अनुसार लोकतान्त्रिक पद्धतिभित्र रही आफ्ना मागहरू राख्ने अधिकार सबैलाई छ, तर त्यो अधिकार प्रयोग गर्दा जनताको दुःख नहोस भन्ने कुरामा सबै पक्ष सचेत हुन जरुरी छ।
सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार देखि गण्डकी प्रदेश र सोमबार देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।