तनहुँको बन्दीपुर गाउँपालिका–४, भुमर्सेमा आइतबार एक दिने निःशुल्क पशु स्वास्थ्य तथा आयुर्वेद उपचार शिविर सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, वडा नं। २ का अध्यक्ष तिलक बहादुर कुँवर, वडा नं। ३ का अध्यक्ष परमेश्वर भट्टराई, पिप्लेटोल विकास संस्थाका अध्यक्ष जगलाल थापा, पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु विकास अधिकृत मधुविलास न्यौपाने, पशु चिकित्सक डा। प्रविन चौधरी, अन्य कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा गाई, गोरु १०६, भैंसी, राँगा ६२, बाख्रा ९२, बङ्गुर ३८, कुखुरा १०४० र कुकुर २१ गरी जम्मा २०५९ पशुपंक्षीको लागि औषधि वितरण, उपचार, बन्ध्याकरण, रेबीज भ्याक्सिनेसन, प्राविधिक सेवा तथा परामर्श प्रदान गरिएको थियो।
यस्तै, आयुर्वेद शिविरमा प्रदेश आयुर्वेद चिकित्सक डा. प्रशान्त श्रेष्ठ, आयुर्वेद औषधालयका प्रमुख मनोजकुमार महतो र वरिष्ठ वैद्य मञ्जुकुमारी महतोको टोलीबाट ८४ जनालाई निःशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको थियो।