दलित उत्थान समन्वय समिति म्याग्देको आयोजना तथा म्याग्दे गाउँपालिकाको आर्थिक सहयोगमा मंगलबार दलित समुदायका व्यक्तिलाई कानुनी प्रशिक्षण सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जबरजस्ती नभई सोचाई,दृष्टिकोण र भिजनमा परिवर्तन गर्दै जातिय विभेद र छुवाछुतलाई न्यूनिकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

जातिय विभेद र छुवाछुतको अन्त्यका लागि धेरै परिवर्तन र फड्को मारिसकेको छ,उहाँले भन्नुभयो “यसले अझै पुगेन्,अझै अघि बढ्नुछ अब हामी जुरुक्क उठ्न आवश्यक छ ।”

एउटा पार्टीले अर्को पार्टीको,एउटा जातिले अर्को जातिको खुट्टा तान्ने प्रवृत्ति होइन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सामाजिक अपराधको रुपमा रहेको जातिय विभेद र छुवाछुतको अन्त्यको लागि म्याग्दे गाउँपालिकाले सशक्त रुपमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले समाजमा अहिले पनि छुवाछुत र जातिय विभेद कायम रहेकाले अन्त्यको आवश्यक रहेको बताउनुभयो ।

हामीले सोचे जस्तो समाज बन्न सकिरहेको छैन्,उहाँले भन्नुभयो “यसको न्यूनिकरणका लागि छुवाछुत गर्ने विभेदमा पर्ने वर्ग उठ्न आवश्यक रहेको बताउनुभयो ।”

निवर्तामान गाउँपालिका अध्यक्ष माया राना आलेले संविधानले दलितका लागि सुनौलो अवसर प्रदान गरेको बताउनुभयो । समाजमा दुई जात छन्,अरु छैन् अब जातका नाउँमा छुवाछुत विभेद स्वीकार्य हुदैन्,उहाँले भन्नुभयो ।

नेकाँ महासमिति सदस्य रामकृष्ण बिकले पशुपक्षी बीच कुनै भेदभाव हुदैन् तर सर्वश्रेष्ठ र बुद्धिमानी मानिएको त्यही प्राणी मानिस मानिस बीच जातिय विभेद हुनु दुरभाग्य भएको बताउनुभयो ।

दलितले छुदाँ छोइयो बिटुलो भइयो,तल परियो भन्ने सोचले समाजलाई कुन दिशातर्फ धकेलिरहेको छ भन्ने अनुभूति भएको छ,उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो “गैरदलित वक्तारुले समाजमा छुवाछुत र जातिय विभेद छैन्,विभेद हटिसक्यो भन्नेले दलित भएर महसुस गर्न सक्नुपर्छ ।”

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य एवं म्याग्दे गाउँपालिका इन्जार्च नेता डिलबहादुर नेपालीले अहिले पनि समाजमा मानिस मानिस बीच छुवाछुत र विभेद विद्यमान रहेको बताउनुभयो । जसरी दलितले जुत्ता,कपडा र गहना बनाएर चिटिक्क बनाइदिन्छौ त्यसैगरी पालिका जितेको अवस्थामा चिटिक्क र नमुना बनाउने दाबी गर्नुभयो ।

जबसम्म गाउँपालिका अध्यक्ष,उपाध्यक्षदेखि प्रदेश मुख्यमन्त्री हुदै प्रधानमन्त्री बन्न सक्दैनौं तबसम्म दलितले अधिकार पाउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

नेकपा एमाले जिल्ला उपसहसचिव सुनिता नेपालीले दलित समुदाय दलित महिला सदस्य भन्दा माथि जान नसकेकाले दलित समुदाय आफ्नो हक अधिकारका लागि लड्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सधैं भोट दिनका लागि मात्रै तयार नभई भोट लिन पनि तयार बन्नुपर्छ ।” जिल्लाभरि कुनैपनि राजनीतिक पार्टीबाट दलित समुदायबाट एक जना पनि वडाध्यक्ष बन्न नसक्नु दुखद पक्ष भएको बताउनुभयो ।

नेकाँ जिल्ला सदस्य मिनबहादुर चदारोले म्याग्दे गाउँपालिकाले गाउँपालिकाभित्रका दलित समुदायका लागि स्वास्थ्य र शिक्षामा निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।

दलित मुक्ति जिल्ला अध्यक्ष दलबहादुर बिकले तत्कालिन राजामहाराजाले बनाएको नियम कानुनको चपेटामा अहिले पनि दलित समुदाय अपहेलित बन्नुपरेको बताउनुभयो ।

नेपाल बार एशोसिएशन तनहुँका पूर्व अध्यक्ष एवं अधिवक्ता अमृतबहादुर नेपालीले नेपालको संविधानमा जातिय छुवाछुत तथा विभेद भएमा के कस्ता कानुनी कारवाही हुन्छ भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

दलित उत्थान समन्वय समिति म्याग्देका अध्यक्ष श्रीकृष्ण बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दे गाउँपालिका–४ दीपक श्रेष्ठ,वडाध्यक्ष,म्याग्दे ३ वडाध्यक्ष टुकराज अधिकारी,म्याग्दे–७ वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ,कार्यपालिका सदस्य बद्रिका घिमिरे,नेकाँ म्याग्दे सभापति रामभक्त घिमिरे,एमाले म्याग्देका अध्यक्ष दधिकानाथ घिमिरे,नेकपा माओवादी केन्द्र म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठ,रास्वपा म्याग्देका अध्यक्ष मनोज अधिकारी,विश्व हिन्दु महासंघका अध्यक्ष बिनोद खनाल,क्षेत्री समाज म्याग्देका अध्यक्ष निर्मल अधिकारी लगायतका वक्ताहरुले जातिय विभेद अन्त्यका लागि एकजुट बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका बारेमा जिल्ला समन्वय समिति तनहुँका सदस्य डोलबहादुर सुनार, कार्यपालिका सदस्य थममाया बिकले स्वागत, दलित उत्थान समन्वय समिति म्याग्देका सचिव रामबहादुर नेपालीले संचालन र धन्यवाद नेकपा माओवादी केन्द्र म्याग्दे पाटी सचिव शम्भु सदाशंकरले दिनुभएको थियो । उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका सात वटै वडाबाट दलितहरुको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा पाँच सय बढी दलितहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।